काठमाडौं । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि नेपालले ओमानबाट ८८ रनको लक्ष्य पाएको छ ।
सेमिफाइनलमा पराजित भएपछि आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल नेपाल र ओमानबीच तेस्रो स्थानका लागि खेल जारी छ ।
मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको छ ।
नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद २१ र आयान खान ९१६०, नसिम खुसी १५ र कलिमुल्लाह १४ ले मात्र दोहोरो अंकको रन छुन सके ।
दोस्रो ओभरमै ओपनर जतिन्दर सिंह रनआउट भएपछि नेपालले पहिलो सफलता पाएको थियो । अर्को ओभरमा कमलसिंह ऐरीले सोएव खानलाई कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गरे । पाँचौं ओभरमा ओमानका अर्का ओपनर कश्यप प्रजापतीलाई ५ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि पावर प्ले ६ ओभरमा १९–३ को कमजोर स्थितिमा थियो ।
त्यसयता नेपाली स्पिनरहरू कप्तान लामिछाने, आरिफ शेख र सागर ढकालले विकेट लिइरहे । लामिछानेले ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिए । यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए ।
मंगलबार युएईसँग ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा छानिन असफल भएको थियो । त्यसअघि समूह चरणमा नेपालले शतप्रतिशत जित हासिल गरेको थियो । समूह चरणमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि ओमानमै आयोजित चार देशीय शृंखलाका क्रममा नेपालले ओमानमाथि ६ विकेटको जित रचेको थियो ।