काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् । १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी विभिन्न विषयमा जानकारी लिएका हुन् ।
आज बिहान गृहमन्त्री खाँणले प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट नागरिकले पाएका सेवा–सुविधा, कर्मचारीको संख्यालगायत विषयमा जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
नवलपरासी पूर्वका सहायक प्रजिअ चित्रांगत बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए ।
कञ्चनपुरका प्रजिअ रामप्रसाद पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जति बेला पनि जानकारी राख्न सतर्क रहन सिकाएको बताए । “सामान्यतया आन्तरिक विषयवस्तुमा महत्त्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जाँगर र सर्तक रहन सिकाएको छ,” उनले भने ।
पर्साका प्रजिअ उमेशकुमार ढकालले गृहमन्त्री आफैँले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताए ।
गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही)सँग टेलिफोन वार्ता गरेका हुन् ।
यस्तै, चक्रपाणि पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (र्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन वार्ता गरेका थिए ।
नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि उनले कुराकानी गरेका थिए ।