काठमाडौँ – निर्वाचन आयोग र सरकारबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको छ ।
बालुवाटारमा आज आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा ४ जेठमा देशैभर स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाउनुभएको जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको तयारीमा जुट्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई भेट्न बागमती प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा देउवाले ४ जेठमा चुनाव हुने घोषणा गर्दै तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
सभापति बानियाँले प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
जेठ ४ मा स्थानीय तहको चुनाव गर्न कुनै पनि कानुन परिमार्जन गर्न आवश्यक नभएको दाबी पनि निर्वाचन आयोगले गरेको छ । संविधानको धारा २२५ ले कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधानसँग स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले गरेको कार्यकाल सकिनुभन्दा २ महिना अघिनै चुनाव गर्नुपर्ने प्रावधान बाझिएको चर्चा सत्ता निकट कानुन व्यवसायीले गर्दै आएका छन् ।
तर आयोगले प्रधानमन्त्रीसमक्ष पेस गरेको पत्रमा कानून संशोधन, परिमार्जन, प्रतिस्थापन वा थपघट गर्नु वाञ्छनीय नहुने उल्लेख छ । कानुनमा कार्यकाल सकिनुअघि नै चुनाव गर्नुपर्ने प्रावधान राखिनुले स्थानीय तह पदाधिकारी विहीन हुँदैन भन्ने अर्थमा बुझ्नुपर्ने आयोगको मत छ ।