काठमाडौँ । नेकपा एमालेले आज पनि संसद् चल्न नदिने भएको छ । संसदको हिउँदे अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले सरकारले यस विषयमा चासो नै नराखेको र सभामुखले निरन्तर षड्यन्त्र गरिरहेको बताउँदै संसद्मा विरोध प्रदर्शन जारी राख्ने बताउनुभयो ।
उहाले भन्नुभयो, ‘अहिले हामीले विरोध मात्रै गरिरहेका छौं, आवश्यक परे भने अवरोध नै गर्छौं’, यसअघि पनि बलमिच्याइँका साथ संसद् चलाइएको भन्दै उहाले बिरोध जनाउनुभयो ।
‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन । सरकार संसद्मा आएको गतिरोधका विषयमा कुरा गर्दैन । प्रतिपक्ष लतारिएर जाँदैन।’ओलीको भनाई थियो ।
सरकारले प्रतिपक्ष पार्टी फुटाउन लागेको र सभामुख त्यस खेलका मतियार बनेको बताउँदै यस्तो गतिविधि नसच्चिएसम्म विरोध जारी राख्ने बताउनुभयो ।
नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।