काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो । खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए ।
जारी लिगमा शेर्पा अझै जितविहीन छ। शेर्पाले यसअघि दुई मध्ये एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो।
यता पुलिसको भने यो दोस्रो बराबरी हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलको पुलिसले अघिल्लो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो।
यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ ।