काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्नुहुने भएको छ । उहाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न लागेको उहाका सञ्चार सहयोगी एकिन्द्र कुँवरले बताउनुभयो ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले यसअघि नै विधान महाधिवेशन गरिसकेकाले चितवनको महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनका रुपमा लिइएको छ ।
रावलले यसअघि गृहजिल्ला अछाम पुगेर अध्यक्षमा उम्मेद्वारी दिने घोषणा कार्यकर्तामाझ गर्नुभएको थियो । तर, आज उहाले कुन पदमा उम्मेद्वारी घोषणा गर्ने भन्ने खुलाइएको छैन । अहिलेसम्म एमालेका कुनै पनि नेताहरूले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्नुभएको छैन ।
अध्यक्षमा केपी शर्मा ओली नै निर्विरोध दोहोरिने भन्दै पार्टीका नेताहरुहरुले भन्दै आएका थिए । तर, रावलको तयारीले ओलीको निर्विरोध अध्यक्ष बन्ने प्रयासमा धक्का लाग्ने भएको छ ।
रावल आठौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार भई पराजित हुनुभएको थियो । नवौं महाधिवेशनमा भने उहाँ उपाध्यक्षमै विजयी हुनुभएको थियो ।