काठमाडौँ । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
आइतबार(आज) ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् । अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको छ ।
१५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ । त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्थ्यो । तर आइतबारको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित हुनुभएको थियो । समितिका सभापति कर्णले पार्टीहरूको महाधिवेशन चलिरहेकाले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिनुभयो ।
आइतबारको बैठकमा कांग्रेसका जितेन्द्र देव पुष्पा भुसाल, भिनसेनदास, नेकपा एसकी नन्दा चपाई, माओवादीका पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल र एमालेका सुमनराज प्याकुरेल बैठकमा आउनु भएन ।
गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।