काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूह फुटेको छ । पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढ्नुभएको छ ।
यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ ।
पौडेल समूहबाट सभापतिका आकांक्षी सिंह अब एकल ढंगबाट अगाडि बढेर महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा लाग्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनको रणनीतिबारे छलफल गर्न शुक्रबार (आज) बोलाएको भेलामा नेता सिंह नजानु हुनेभएको छ ।
महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि त्यसमा आफ्नो समूहले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न पौडेलले आफूपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको हो ।
बैठक बसुन्धरास्थित दियालो फुडल्यान्डमा आज दिउँसो २ बजे बस्नेछ । बैठकमा महाधिवेशनलक्षित रणनीतिबारे छलफल हुने पौडेलनिकट केन्द्रीय सदस्यले जानकारी दिनुभएको छ ।
तर, उक्त बैठकमा पूर्वमहामन्त्री सिंह उपस्थित नहुने उनको सचिवालयले जनाएको छ । पछिल्लो समय नेता सिंह १३ औँ महाधिवेशनमा आफूले सघाएका नेता पौडेलविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आउनुभएको छ ।