बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले बिहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
उनीहरुले बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै पाण्डेले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । पहिलो चरणमा उहाँले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी)संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
उहाँले भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।