काठमाडौँ । लगातारको वर्षाका कारण आएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण डोटिमा २ जना कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् ।
पहिरोले घर पुरिँदा डोटीको सायल गाउँपालिकाको वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा गयराति पहिरो खस्दा उहाँका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिनुभएको छ ।
राति अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले खाना खाएर सुतेका दिलबहादुरकी श्रीमती बासुदेवी, ७ वर्षीया छोरी बिन्द्रा, १४ वर्षीय छोरा सागर तथा १० वर्षीय आशीषलाई च्यापेको थियो । ३ जना बाँचे पनि दिलबहादुरका दुवै छोराहरूको भने घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूको पोस्टमार्टम गरिसकिएको प्रजिअ विष्टले जानकारी दिनुभएको छ ।
अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युुनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।