काठमाडौँ । देशका विभिन्न स्थानहरुमा भएका दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की, संखुवासभा र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।
सप्तरीको सुरुङ्गा नगरपालिका–३ कर्हवा चोकमा प्र.३–०२–०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको हिजो मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–१४ लादेस्थित सडकमा प्रदेश ०२–००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर हिजो दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका–११ बस्ने १८ वर्षीय शुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता, कैलालीको टिकापुर नगरपालिका–५ पार्क रोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर हिजो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका–१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।
त्यस्तै मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ लामिबगरस्थित सडकमा ना.१ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा काठमाडौँ–१६ गोदाबारी बस्ने ६२ वर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरियाका गोबिन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् । दुर्घटनामा घाइते भएका सुमो चालक सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
कास्कीको पोखरा–२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर हिजो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका–५ का ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता, बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा–४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा तेह्रथुम लालीगुराँस नगरपालिका–१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।