काठमाडौँ । महिला अधिकारकर्मी रुबी खानको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । बाँकेकी नन्कुनी धोबी र निर्मला कुर्मीको ‘हत्या’मा संलग्नलाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा बसेकी रुबीको स्वास्थ्य जटिल बन्दै गएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
रुबीको नेतृत्वमा असोज १ देखि २० गतेसम्म पीडित परिवार र महिला अधिकारकर्मीसहित १६ जनाको टोलीले न्यायको माग गर्दै नेपालगञ्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो । असोज २२ गते काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेको अवस्थामा प्रहरीले रुबीलाई नियन्त्रणमा लिएर नेपालगञ्ज पठाएको थियो ।
बहुविवाहको मुद्दामा अदालतबाट पक्राउपूर्जी जारी भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर नेपालगञ्ज पठाएको थियो । उनले प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेकी थिइन् । उनको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरण रिट परेपछि सर्वोच्चले बिहीबार उनलाई रिहा गर्न आदेश दिएको थियो । उनलाई पूर्वाग्रह राखेर पक्राउ गरिएको सर्वोच्चको ठहर थियो ।
रिहा भएपछि पनि अनसनलाई निरन्तरता दिएकी रुबीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको अधिकारकर्मी सकिना तेलीले जानकारी दिइन् । उनलाई स्वास फेर्न असहज भएको अधिकारकर्मी तेलीले जानकारी दिइन्।