Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

  • शुक्रवार, आश्विन २९ २०७८

  • 587
    SHARES

  • आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

    काठमाडौं, असोज २९ । बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ ।
    नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ ।

    साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदेखि टीका, जमरा र आशिर्वाद ग्रहण गर्न सकिने छ ।

    घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दूर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ । रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

    दशैंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशिर्वचन विशेष महत्वका हुन्छन् ।

    दशैं हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा रहेको छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्य निकै रोमाञ्चक देखिन्छ ।

    घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकहाँ पुगेर टीका र आर्शिवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ । नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

    वैदिक सनातन धर्मानुयायीहरू दशैंलाई पौराणिक पात्र र तिनको महारथसँग जोडेर हेर्ने गर्दछन् । यस दिन दशानन् अर्थात् दशमुखे रावणको पराजय भएको र रामको विजय भएको दिनका रुपमा पनि लिइन्छ । यसै दिन दुर्गा भवानीले महिषासूर नामक असूरको वध गरेको देवी भागवतमा उल्लेख छ । दशैंलाई दैत्यमाथि देवता, असत्यमाथि सत्य अनि अमानवीयतामाथि मानवताको विजयका रूपमा पनि लिने गरिएको छ ।

    टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ । पुरुषलाई टीका लगाइदिँदा ‘आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने, सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे’ अर्थात् द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो श्रेय होस्, रामको जस्तो शत्रू क्षय गर्ने क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य(सम्पत्ति) होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस्, सूर्य पुत्र झैँ दानी होस्, बलरामको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस्, भन्ने गरिन्छ ।

    यसैगरी, महिलालाई टीका लगाइदिँदा भने ‘जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।’ अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारलाई अन्त्य गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं, भनेर आशिर्वाद दिने गरिन्छ ।


    शुक्रवार, आश्विन २९ २०७८०६:०५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij