सिन्धुपाल्चोक । सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर घाइते भएका माओवादीका पूर्व लडाकुलाई नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादी पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गर्नुभएको हो ।
युद्धका क्रममा बन्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्व लडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पीडित भएपनि उपचारका लागि राज्यले बेवास्त गरेको खबर सार्वजनिक भएपछि पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले पूर्व लडाकु तामाङलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।