काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष उत्तम थापाले उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गर्दै सर्वसाधारणको घरमा डोजर चलाउनुभएको छ ।
मंगलबार दलबलसहित आएको वडाध्यक्ष नेतृत्वको टोलीले स्थानीय बासिन्दाको घरमा डोजर चलाएको हो ।
घरभित्र मान्छे हुँदाहुँदै जबर्जस्ती डोजरको प्रयोग गरी सर्वसाधारणलाई घरबारविहीन बनाउने कार्य भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
वडाध्यक्षकै नेतृत्वमा गुण्डागर्दी शैलीमा घरमा डोजर चलेपछि आफूहरु आतंकित भएको उनीहरुको भनाइ छ ।
एक स्थानीय बासिन्दाले भने, ‘जनताको सेवामा समर्पित गणतान्त्रिक नेपालका स्थानीय जनप्रतिनिधिको यही हो त चाला?’
वडा कार्यालयले अतिक्रमण हटाउने अभियान चलाएको थियो । तर व्यक्तिगत सम्पत्तिमा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दा अदालत गएका थिए ।
अदालतले उक्त मुद्दामा तत्काल घर भत्काउने लगायतका कार्य नगर्न अन्तरिम आदेश दिएको थियो । तर अदालतको आदेशको अवज्ञा गर्दै वडाध्यक्ष थापाको नेतृत्वमा घरमा डोजर चलाउने काम भएको हो ।
यसबारेमा बुझ्न पटक–पटक फोन गर्दा पनि वडाध्यक्ष थापा सम्पर्कमा आउनुभएन ।