काठमाडौं । काठमाडौं महागरपालिका भित्रका विद्यालयहरु खुलाउने की नखुलाउने भन्ने बारेमा आज पनि छलफल हुन लागेको छ ।
महानगरपालिका अन्तर्गतको शिक्षा समितिको बैठकमा आज विद्यालय खुलाउने की नखुलाउने भन्ने बारेमा छलफल हुन लागेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महानगरमा विद्यालयहरु कहिलेदेखि सञ्चालन गर्ने, कसरी सञ्चालन गर्नेे लगायतका विषयमा आजको बैठक केन्द्रीत हुने उहाँले बताउनुभयो ।
आफूहरुले विद्यालय सञ्चालन गर्न सकिने विषयमा २७ बुँदे मापदण्ड तयार पारेको र आजको बैठकमा उक्त मापदण्डमाथि पनि छलफल गराइने उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते सूचना जारी गर्दै विद्यालयमै उपस्थीत भएर पठन पाठन गर्ने बारेमा स्थानीय निकायले निर्णय गर्न सक्ने जनाएको थियो ।
भौतिकरुपमा उपस्थीत भएर विद्यालय सञ्चालन गर्ने बेला अझै नभएकाले सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो ।
प्रशासनको आग्रह विपरित काठमाडौ जिल्लाका कतिपय विद्यालयहरुले स्थानीय तहसँगको समन्वयविना नै विद्यालय सञ्चालन गर्न थालेका बेला काठमाडौ महानगरपालिकाले छलफल गर्न लागेको हो ।