काठमाडौँँ । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
सीआइबीका निर्देशक तथा डीआइजी धिरजप्रताप सिंहका अनुसार डीएसपीको कमाण्डमा तीन जनाको टोली आज संखुवासभा पठाइएको हो । सीआइबीको जघन्य अपराध हेर्ने पिलरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वको तीन सदस्यीय टोली आज संखुवासभा पठाइएको हो ।
देशभरका जघन्य र ठूला प्रकृतिको अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सीआइबीले संखुवासभाको घटना बाहिरिए लगत्तै प्राविधिक पाटोबाट स्थानीय प्रहरीलाई सघाइरहेको थियो । घटनाको अहिलेसम्म निचोड ननिस्किएपछि टोलीनै घटनास्थल पठाइएको छ । सीआइबीको टोलीले घटनास्थल वरपर चालू अवस्थामा रहेका मोबाइलको लोकेशन केलाउनेदेखि, विभिन्न अन्य प्राविधिक पाटाको अनुसन्धान गर्नेछ ।
सोमबार बिहान पौन १० बजेतिर स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा १ वटा लास घरमा, एउटा सडकमा, २ वटा बारीको कान्लामा र २ वटा खोल्सामा भेटिएको थियो। मृत फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय छोरा तेज बहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन् ।
उक्त घटनामा ९० वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका थि । आँखा कम देख्ने र कान पनि कम सुन्ने उनलाई घटनाबारे भने केही जानकारी नभएको पाइएको छ ।