काठमाडौँ । रातभरको वर्षापछि बाढी–पहिरो तथा डुबानले देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बाढीका कारण ३८२ घर डुबानमा परेका छन् । १३८ जनाको उद्धार गरिएको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
यस्तै, बाढीले शंखमुल पार्क लगायतका क्षेत्र पनि डुबानमा परेका छन् । बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिनुभयो ।
यसैगरी, वर्षाले पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबानमा परेको छ । केही सवारीसाधनहरू पनि डुबानमा फसेको छ भने पार्किङ गरी राखेका यातायातका साधनहरू पनि डुबानमा परेको प्रहरीले जनाएको छ ।
सोही खोलाको बाढीका कारण बनेपाकै धनेश्वर पुल आसपास पनि डुवानमा परेको छ । उक्त डुवानका कारण बनेपा पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । हालसम्म मानवीय क्षतीको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अबिरल वर्षासँगैको पहिरोेले हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न स्थानमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । यसअघि पनि रातो पहरोमा पहिरो जाँदा बारम्बार राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।