काठमाडौं । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा आएको छ ।
कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार आजदेखि सञ्चालनमा आएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिनुभयो । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ ।
केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो । ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भन्नुभयो ।
प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ । संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिनुभयो ।
डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।