काठमाडौं । हरेक बर्ष कृष्णाष्टमीको भोलिपल्ट निकाल्ने गरिएका दुई ठुला जात्रा यस पटक पनि पाल्पाको सदरमुकाम तानसेन र मोरङको सदरमुकाम विराटनगरमा निकाल्न लागिएको छ ।
काठमाडौ बाहिरकै सवैभन्दा ठूलो जात्रा मानिने भगवती जात्रा आज पाल्पाको सदरमुकाम तानसेनमा दिउसो १ बजेतिर निकाल्न लागिएको हो । जात्रामा सहभागीताकै लागि छिमेकी ४/५ जिल्लाका बासिन्दा समेत आएर निकालिने गरिएको भगतवती जात्रा यस पटक भने सिमित व्यक्तिहरुले मात्रै निरन्तरता दिनुहुने भएको छ ।
कोरोनाको महामारीका कारण जिल्लाका विभिन्न निकायका पदाधिकारी, प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख र समिति स्थानीयको सहभागीतामा जात्रा निकाल्न लागिएको हो ।
तत्कालिन नेपाली सेनाका पाल्पाली–उजिर सिंहको पल्टनले अंग्रेसको फौजलाई हराएको सम्झनामा पाल्पामा भगवतीको रथयात्रा निकाल्ने गरिन्छ । तानसेन भगवती टोल स्थित श्री ७ रणउजीरेश्वरी भगवतीको नाममा निकाल्न लागिएको भगतवी जात्रा अहिले २०३ औं पटक निकाल्न लागिएको हो ।
अंग्रेज फौजसँग युद्ध गर्न जानु अघि क्याप्टेन उजिर सिंहले युद्ध जितेमा जात्रा निकाल्ने भाकल गरेर युद्धामा गएको र जितेर आएदेखि सिन्दुर जात्रासँगै भगवतीको नाममा जात्रा निकाल्ने गरेको भनाई छ । भगवती जात्राको अवसरमा हरेक बर्ष झै यस बर्ष पनि आज पाल्पामा सार्वजनिक विदा दिइएको छ ।
यसैगरी आजै विराटनगर महानगरपालिकामा राधाकृष्ण रथयात्राको सट्टामा खटयात्रा निकाल्न लागिएको छ ।
हजारौँ भक्तजनको उपस्थितिमा भव्यसँग निकालिँदै आएको रथयात्राको ९०औँ संस्करण कोरोना महामारीका कारण सम्भव नभएपछि रूप परिवर्तन गरेर खटयात्रा निकालिने भएको हो। विराटनगरमा रथयात्राको सुरुवात नै खटयात्राबाट भएको इतिहास छ ।
विराटनगरको राधाकृष्ण मन्दिरदेखि विसं १९८८ बाट खटयात्रा सुरु गरिएको थियो। विसं २०२४ सालयता भने खटयात्रालाई रुपान्तरण गरेर रथयात्रा निकाल्न थालिएको हो ।
राधाकृष्ण रथयात्रा मनाउन प्रदेश १ सरकारले आज झापा, मोरङ र सुनसरीमा सार्वजनिक बिदा दिएको छ ।