काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।
दुईवर्ष अघिसम्म गाईजात्राको अवसरमा काठमाडौँ नेपाल प्रज्ञा प्रतिष्ठानको हल, चानघरको घल र राष्ट्रिय सभागृहको हल गाइजात्रा महोत्सवले एक साताभन्दा लामो समयसम्म भरिन्थ्यो । तर यी हलमा गत वर्षबाट गाईजात्रा हांस्यव्याङ्ग्य महोत्वस हुन सकेको छैन ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।
सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।