काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर एकैपरिवारको ७ सहित ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।
यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीया श्रीमती मनाको मृत्यु भएको छ । बाले भने बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताउनुभयो ।