काठमाडौं – दुई साताअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । । उनले आज प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
भेटपछि प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत पारसले नेपाली क्रिकेटको क्षेत्रमा पुर्याएको योगदानप्रति प्रशंसा गरेका छन् ।
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद’, उनले ट्विटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ ।’

यता, पारसले पनि रिट्विट गर्दै देउवालाई धन्यवाद दिएका छन् । पारसले प्रधानमन्त्री देउवासँग क्रिकेट विकासको बारेमा छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकासमेत गराएका छन् ।
प्रधानमन्त्रीले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएकोसमेत पारसले उल्लेख गरेका छन् ।
‘नेपाली क्रिकेटको सहयोग गर्ने वचन दिनुभएकोमा म प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिन चाहन्छु’, पारसले ट्विटरमा लेखेका छन् ।

३४ वर्षीय अलराउण्डर पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
सन्यास घोषणा गर्दै पारसले आफू क्रिकेटमा फरक भूमिकामा देखिने बताएका थिए । आफू क्रिकेट व्यवस्थापनमा लाग्ने उनको भनाइ छ ।

साथै, राम्रो अफर आएका राजनीतिमा पनि लाग्नेसक्ने पारसले बताउँदै आएका छन् । यसर्थ, उनको नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँगको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।