काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुभउको छ । उहाँले आज बिहान एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुभएको हो ।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,’ सन्यास घोषणा गर्दै पूर्वकप्तान खड्काले भन्नुभएको छ ।
नेपाली क्रिकेट टोलीका अलराउण्डर खड्काले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गर्नुभउको थियो । त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँ टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहदै आउनुभएको थियो ।
सन् २००९ मा राष्ट्रिय टोलीको कप्तान चयन हुनुभएका खड्काले २०१९ मा उक्त पद छाड्नुभएको थियो ।
३३ वर्षीय खड्काले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टि–ट्वान्टी अन्तराष्ट्रिय खेल्नुभएको छ ।
