काठमाडौँ – सरकारले लकडाउन खुले पनि नेपालमा कोरोना संक्रमणको दर नबढेको दाबी गरेको छ ।
विज्ञहरुले लकडाउन खोलेपछि संक्रमणको दर बढ्नेमा चिन्ता व्यक्त गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण नबढेको बताएको हो ।
लकडाउन खुल्नु भन्दा पाँच दिन अघि र लकडाउन खुलिसकेपछिका पाँच दिनको तथ्याङ्क हेर्दा खासै अन्तर नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । लकडाउन खुले पनि कोरोना संक्रमणको दर भने खासै नबढेको उनको दाबी छ ।
उनले भने ‘लकडाउन खुल्नुभन्दा अगाडिका पाँच दिनमा औषत संक्रमणको दर ३.२ थियो भने लकडाउन खुलिसकेपछिका पाँचदिनमा संक्रमणको दर ३.३ छ यसमा खासै अन्तर आएको देखिँदैन ।’
नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५४४० पुगेको छ । गत चौबिस घण्टामा ७५ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका उनले बताए ।
हालसम्म १३१२८ जना संक्रमण मुक्त भएका उनले बताए ।