काठमाडौं – कोपा अमेरिका फुटबलअन्तर्गत आइतबार बिहान क्वार्टरफाइनलका दुई खेल हुनेछन् ।
पहिलो खेल मध्यराति ३ः४५ बजे हुनेछ । सो खेलमा उरुग्वेले कोलम्बियाको सामना गर्नेछ ।उरुग्वे समूह एको उपविजेता हो भने कोलम्बिया समूह बीबाट तेस्रो हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

यी दुईबीचको खेललाई रोमाञ्चक हुने अपेक्षा गरिएको छ । उरुग्वेयन टिममा लुइस सुवारेज, एडिन्सन काभानीजस्ता स्टार खेलाडीहरु छन् ।
यता, कोलम्बिया भने आफ्ना स्टार खेलाडी जेम्स रोड्रिग्वेजबिनै प्रतियोगितामा सहभागी भएको छ । यद्यपि, जुभेन्ट्सका जुवान कोड्राडो, एटलान्टाका डुभान जापाटाजस्ता खेलाडीले कोलम्बियालाई अघि बढाइरहेका छन् ।

त्यस्तै, आइतबार बिहान ६ः४५ बजे सुरु हुने खेलमा लियोनल मेसीको अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि सामना इक्वेडरको गर्नेछ । अर्जेन्टिनाले तुलनात्मक सहज प्रतिद्धन्द्धी पाएको फुटबल पण्डितहरुले बताइरहेका छन् ।
यद्यपि, दक्षिण अमेरिकाका जुनसुकै टिम जोसुकैलाई हराउन सक्षम छन् भन्ने विश्लेषणसमेत भइरहेको छ । त्यसैले, अर्जेन्टिना पनि इक्वेडरसँग सचेत रहनुपर्ने उनीहरुको तर्क छ ।