काठमाडौं - ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनालाई ४–१ गोलको फराकिलो जित दिलाउने क्रममा मेसीले दुई गोल तथा एक असिस्ट गरे ।
आजको खेल मेसीका लागि कीर्तिमानी १४८ औं खेल हो । यस खेलसँगै उनी अर्जेन्टिनाका लागि सर्बाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।
मेसीले जाभियर मास्चेरानोको रेकर्ड तोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका छन् ।
आजको खेलको छैठौं मिनेटमा पपु गोमेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लियो । उनलाई गोल गर्न मेसीले पास दिए ।
मेसीले त्यसपछि दुई गोल गरे । उनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत् र ४२ मिनेटमा अर्को गरी दुई गोल गरेका हुन् ।
६० मिनेटमा बोलिभियाका इर्विन साभेन्द्राले गोल फर्काए ।
६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गर्दै टिमको जित सहज बनाए ।
समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे । बोलिभियामा भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो
आजको जितले अर्जेन्टिना समूह विजेता बनेको छ । अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ ।
यसैगरी, आज बिहान नै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १ ० ले हरायो । उरुग्वेका लागि एडिन्सन काभानीले खेलको २१ औं मिमनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।