काठमाडौँ । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती टहरा हटाइदिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौं महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको बताउनुभयो ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक उनीहरुलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो ।
‘उनीहरुको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भन्नुभयो, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’
‘हामीले उहाँहरुलाई पटक–पटक आग्रह गरेका छौँ । तर, उहाँहरुले हाम्रो आग्रहलाई बेवास्था गरेपछि बाध्य भएका हौँ ।’ उहाँले भन्नुभयो । अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने उहाँले बताउनुभयो ।
टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो । त्यसपछि निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।