काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । टिमको बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
‘राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीहरुले सानो समूह बनाएर कोभिडको प्रोटोकल पालना गर्दै त्रिवि क्रिकेट मैदानमा प्रशिक्षक डेभ वाटमोरसँग अभ्यास भने गर्न सक्नेछन्’, क्यानले फेसबुकमा लेखेको छ, ‘उक्त टिमसँग फिजियो विक्रम न्यौपानेसमेत रहनुहुनेछ ।’
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टिमको बन्द प्रशिक्षण स्थगित भएको हो ।
स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो । आइसिसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ ।
