काठमाडौं । श्रीमति हत्या आरोपमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलामा परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनवाई हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चले गरेको उक्त फैसला चित्त बुझ्दो नभएपछि त्यसविरुद्ध सोही दिन विभिन्न त्रुटी औंँल्याउँदै पुनरावलोकन निवेदन दर्ता गराएको छ ।
यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनवाई हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनवाई हुनेछ ।
यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र इजलास दुवै उनले तोक्न मिल्दैन ।
पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए । सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।