काठमाडौं – काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी चोट लागेका कारण शव पहिचानमा समस्या भएको बताइएको छ ।
घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मंगलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै महिलाले लगाएको चप्पल भेटिएको थियो ।
हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो ।
‘सनाखत हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘हत्या गरेर छोडेको हाम्रो निष्कर्ष छ, सनाखत गर्ने प्रयास गरिरहेका छौं ।’
घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ । घटना अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको थियो ।
तर, कुकुर घटनास्थल वरपर मात्र घुमेको र हत्यारा हिँडेको बाटोको ट्रयाक नलिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताउनुभयो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।