काठमाडौँ – कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।
थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महिनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।