आइतवार, आषाढ ६ २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउनेबारे निर्णय लिन प्रमुख जिल्ला अधिकारी सिडिओहरुको बैठक आज बस्दै छ । निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।
स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।
तर सिडिओहरुले गृह मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञा थप गरिने तर अझै खुकुलो र व्यवस्थित हुनेछ बताउनुभयो ।