काठमाडौँ : कोरोना महामारीले प्रताडित पारेका बेला अविरल वर्षासँगै आएको बाढी पहिरो र डुवानले अन्य सरुवा रोगको प्रकोप पनि फैलिने खतरा बढेको भन्दै जनस्वास्थ्य विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
बाढी तथा पहिरो प्रभावित तराई तथा पहाडी क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । विज्ञहरुका अनुसार बाढीग्रस्त क्षेत्रमा पानी र खाद्यजन्य महामारी २४ घण्टामै फैलिन सक्ने खतरा रहन्छ ।
बर्खायाम सुरु भएसँगै बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डीस लगायत खाना र पानीजन्य रोग देखिने सम्भावना बढेको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । यस्तो बेला खानपान र सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा शुद्ध पौष्टिक खाना र पानीको आपूर्ति सुनिश्चित हुनुको साथै शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसले पानीजन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै किटजन्य रोगहबाट बच्न पनि विशेष ख्याल गर्नुपर्ने डा. पुनको सुझाव छ ।
बाढी प्रभावित क्षेत्रमा झाडापखाला र औलो फैलिने क्रम विगतमा समेत देखिएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ । डा. पुनले लामखुट्टको टोकाइबाट बच्ने उपाय अपनाउन र मुसाहरु वरिपरि आउने वातावरण श्रृजना नगर्न आग्रह गर्नुभयो ।
यता सरकारले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजक हुनु जरुरी रहेको बताउनुभयो । व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
अहिले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धारका कामहरु भइरहेका छन् । राहत वितरण र उद्धार कार्यमा संलग्न हुँदा पनि कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न र गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गास र बासको प्रबन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । बाढी प्रभावित क्षेत्रबाट बिस्थापित भइ विभिन्न शिविरमा बस्नुपर्ने अवस्थामा पनि जनस्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा ध्यान पु¥याउन उहाँले आग्रह गर्नुभयो ।
नेपालमा कोरोनाको दोस्रो लहरको जोखिम बिस्तारै कम हुँदै गएको छ । संक्रमितको संख्या र मृत्युदर बिस्तारै कम हुँदै गए पनि कोरोना महामारीको तेस्रो लहर पनि छिट्टै आउने चेतावनी विज्ञहरुले दिइरहेका छन् । यस्तो बेला बाढीग्रस्त क्षेत्रमा कोरानासँगै अन्य सरुवा रोगको प्रकोप फैलिए अवस्था झनै भयावह बन्ने निश्चित छ । त्यसैले सरकारले बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन आवश्यक सबै उपायहरु अबलम्बन गर्न ढिलो गर्नु हुँदैन ।