काठमाडौं – युरोपका विभिन्न ११ देशका ११ वटै शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलमा आज तीन खेल हुँदैछन् ।
युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।
आज हुने पहिलो खेलमा फिनल्यान्ड र रसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रसियाबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
आज हुने तेस्रो खेलमा इटाली र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचओ खेल राति पौने १ बजे सुरु हुनेछ ।
समूह एमा इटालीले एक जित हासिल गरेको छ । युरोकपको उद्घाटन खेलमा घरेलु टोली इटालीले टर्कीलाई ३–० ले हराएको थियो ।
आजको खेलमा पनि शतप्रतिशत् जित निकालेर एक खेलअगावै दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यका साथ आफूहरु मैदानमा उत्रिने इटालीमा प्रशिक्षक रोबर्टो मान्चिनीले बताएका छन् ।
यो समूहमा इटालीलाई बलियो मानिएको छ । आजको खेल जिते इटाली दोस्रो चरणमा पुग्ने पहिलो टोली बन्नेछ ।
इटालीमा विगतमा जस्तो स्टार खेलाडी नभए पनि टिममा सन्तुलन भएको फुटबल पण्डितहरुले बताइरहेका ।
इटालीमा कप्तान जर्जियो किलिनी, लियोनार्दो बुनुची, किरो इमाबोले, लोरेन्जो इन्सिने, निकोलो बरेला जस्ता खेलाडी छन् ।
यता, सोही समूहको अर्को खेलमा वेल्स र स्विट्जरल्यान्डबीच बराबरीको नतिजा आएको थियो ।
समूह बीमा भने फिनल्यान्डले डेकमार्कलाई हराएको थियो भने रसिया बेल्जियमसँग पराजित भएको थियो ।