काठमाडौं – लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
उता पाल्पा र कास्कीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले घर पुरिँदा एक किशोरको मृत्यु भएको छ । त्यसैगरी कास्कीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–१ मा गएराति खहरेमा आएको बाढीले बगाउँदा ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
यस्तै लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी आइरहेको छ । देशका धेरै जिल्लामा बाढी तथा पहिरोले ठूलो मात्रामा जनधनको क्षति गरिरहेको छ
मौसमविद्ले बाढी, पहिरो तथा डुबानको जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन् ।
बाढी पूर्वानुमान महाशाखाले आज बाढी आउने अनुमानसहितको सूचना जारी गरेको छ ।
उता वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पु¥याएको हो ।
त्यस्तै डोटीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । केआई सिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षका खडकबहादुर बमको ज्यान गएको प्रहरीले जनाएको छ । गाउँका धारापानीमा खानेपानी बन्द भएपछि मर्मतका लागि मुहानमा गएका बेला उहाँलाई पहिरोले पुरेको हो । बमसँगै गएका १३ वर्षकी पुनी कुँवर र १६ वर्षकी पुजा कुँवर घाइते भएका छन् । उनीहरुको उपचारको लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्डअन्तर्गतको राजमार्ग हिजो साँझदेखि अवरुद्ध भएको हो ।
कपुरकोट गाउँपालिका–३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
यस्तै गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले आज साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।
यस्तै आइतबारदेखिको झरीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।
बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।
यस वर्ष देशभर गएको वर्षभन्दा बढी पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।