एजेन्सी – साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोपियन च्याम्पियनसिप (युरो कप) फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा घरेलु टोली हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।
पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
गोलको खाता भने डिफेन्डर राफायल गुइरेरोले ८४ औँ मिनेटमा खोलेका थिए ।
६० हजार दर्शको साथ पाएको हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा तीन गोल व्यहोर्न पुग्यो ।
खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।

८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए । उनले राफा सिल्भाको पासलाई सदुपयोग गरे ।
हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।
३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।
रोनाल्डोले यसअघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।
यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।
यस जितसँगै समूह ’एफ’ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।
समूह एफकै अर्को खेलमा फ्रान्सले जर्मनीलाई १–० ले हराएको छ । जिसँगै फ्रन्स समूहको दोस्रो स्थानमा छ । फ्रान्स गोलअन्तरका आधारमा पोर्चुगलभन्दा पछि परेको हो ।