काठमाडौं – युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप –२०२०) अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स तीनपटकको च्याम्पियन जर्मनी भिड्दैछन् । फ्रान्स र जर्मनीबीचको खेल आज मध्यराति १२ः४५ बजे हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ ।
यस्तै, आजराति ९ः४५ बजे साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ ।

समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेता पोर्चुगलसहित तीन पूर्वविजेता छन् । साथै, यो समूहमा विश्वकपको फाइनलमा दुईपटक खेलेको हंगेरी पनि छ । हंगेरीले दुई खेल आफ्नै घरेलु मैदानमा खेल्दैछ । यसर्थ, उसलाई पनि कम आँक्न नमिल्ने विश्लेषणहरुले बताउने गरेका छन् ।
एउटै समूहमा रहेका फ्रान्स, जर्मनी र पोर्चुललाई उपाधिको दाबेदार मानिएको छ । यसर्थ, आजका दुवै खेललाई महाभिडन्तको संज्ञा दिइएको छ ।
२०१६ को युरो कपमा फ्रान्सले पाँच वर्षअघि घरेलु मैदानमा तत्कालिन विश्वविजेता जर्मनीलाई २–० ले हराएको थियो । उक्त सेमिफाइनलका दुवै गोल एन्टाइन ग्रिजमनले गरेका थिए । ग्रिजमन योपटक पनि फ्रेन्च टिममा अटाएका छन् ।
पछिल्लो समयमा फ्रान्स पुरानै लयमा रहेको अनुमान गरिएको छ । यता, २०१८ मा रसियामा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।
दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा रहेको बताइएको छ । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ ।
उता फ्रान्समा करिम बेन्जेमा झण्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । बेन्जेमा र ग्रिजमनसहित किलिएन एमबाप्पे, ओलिभियर जिरुड जस्ता धारिलो फरवार्ड लाइन फ्रान्ससँग छ ।
यस्तै मिडफिल्डमा एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडी छन् । कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे जस्ता खेलाडी हुनेछन् ।
यता, अनुभवी गोलकिपर मानुएल नोएरको कप्तानीमा रहेको जर्मनीमा थोमस मुलर र माट हुमेल्सले दुई वर्षपछि पुरनागमन गरेका छन् । यस्तै टिमो वेर्नर, काई हाभार्ट, सर्जी जिनाब्री, लारोए साने जस्ता खेलाडी जर्मन टिममा छन् । मिडफिल्डमा टोनी क्रुस, एल्के गुन्डागोन र जोसुअ किम्मिकको साथ रहनेछ । जर्मनीको मिडफिल्डलाई मजबुत मानिएको छ ।
आजको खेललाई उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डरबीचको भिडन्तको रुपमा पनि कतिपयले व्याख्या गरेका छन् । किनकि जर्मन टिममा ९ जना मिडफिल्डर छन् । तीमध्ये अधिकांश उत्कृष्ट छन् । बेन्जेमा, ग्रिजमन, एमबाप्पे, जिरुड र उस्मान डेम्बेलेजस्ता फरवार्डका कारण फ्रान्स धारिलो देखिएको छ ।

जर्मनी र फ्रान्सबीचको खेल बहुप्रतिक्षित खेलको रुपमा पनि रहेको छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले यो दुवै टिमको लागि ठूलो खेल भएको बताए । उनले दुवै टिम युरोपको उत्कृष्ट टिम भएकोले ठूलो गेम हुने बताए ।
यस्तै जर्मन प्रशिक्षक योकिम लोले दुई साताको तयारीपछि फ्रान्ससँग कस्तो खेल्छ यो महत्वपूर्ण हुने बताएका छन् ।
फ्रान्स र जर्मनी युरोकप अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो ।
२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्स जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा अपराजित छ ।
यस्तै, आजराति ९ः४५ बजे हुने साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेललाई पनि आज महत्वका साथ हेरिएको छ । यस नतिजाले पनि दोस्रो चरणमा जाने समिकरणमा असर पर्ने देखिन्छ । ६ मध्ये उत्कृष्ट चार हुने तेस्रो स्थानका टिमले मात्र दोस्रो चरणमा जाने अवसर पाउनेछन् । यसर्थ, हरेक खेलको उत्तिकै महत्व छ यो समूहमा ।
क्रिश्टियानो रोनाल्डोसहितका स्टार खेलाडीले भरिएको पोर्चगल जित निकाल्ने दाउमा छ भने हंगेरी पनि घरेलु मैदानको फाइदा लिने सुरमा रहेको बताइएको छ ।