काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ता थपिएको निषेधाज्ञा आज (मंगलबार) देखि लागु भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको यसअघि नै बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।
यसअघि तोकिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिएको छ । थप भएको निषेधाज्ञा समयमा यसअघिभन्दा केही कुरा सहज बनाइएको छ ।
आदेशअनुसार खाद्य पसल खोल्न पाइने समय बढाइएको छ भने पुस्तक र हार्डवेयर पसल पनि तोकिएको समयमा खोल्न पाइनेछ । खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसल अपराह्न ४ बजेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ ।
यस्तै होटल, रेस्टुरेन्टले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन् । अनलाईनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
निषेधाज्ञा काठमाडौं, ललितपुर र भक्तपुर ले एकै साथ र उही स्वरूपमा निषेधाज्ञा जारी गर्ने गरेका छन् ।
यस्तै काठमाडौं उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ ।
गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वको भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।
निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छोड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् ।
कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएको छ । कोरोना रोकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ ।
निषेधाज्ञा थपिएका जिल्लामध्ये ताप्लेजुङ र मुस्ताङमा भने जिल्लाभर लागू हुनेछैन ।