काठमाडौं– गत वर्षको एसइईका लागि आन्तरिक मूल्यांकनलाई आधार बनाएको राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ ।
बोर्डले आज सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो ।
असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने भएको छ ।
कुनै अवरोध नभए बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आउँदो साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।