काठमाडौँ – काठमाडौँ उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो।
कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको छ। पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।
शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताउनुभयो। उहाँका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।
उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।