काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारेको छ । कोरोनाको दोस्रो लहर व्यापक बनेसँगै लगाइएको निषेधाज्ञा लब्याउँदै लगिएको भएपनि असारबाट भने केही सहज बनाउने सरकारको तयारी छ ।
अधिकांश जिल्लामा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञालाई जारी राख्ने र विस्तारै यसलाई खुकुलो बनाउँदै लैजाने तयारीमा गृह मन्त्रालय छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको थप निक्र्यौल भइरहेको छ ।
गृह प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको बताउनुभयो । अहिले विभिन्न कृषिसम्बन्धी काम तथा उत्पादनमूलक कार्य गर्ने समय भएकोले यस्ता काममा अवरोध नपुग्ने गरी निर्णय लिने सोचमा आफूहरु रहेको प्रवक्ता दाहालले बताउनुभयो ।
निषेधाज्ञा लुज बनाउने निर्णय लिँदा पूर्वतयारीसँगै निक्कै सोचविचारपूर्वक निर्णय लिनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ । जनस्वास्थ्यकै हिसाबले भने अहिले नै सहज बनाइहाल्न त्यत्ति उपयुक्त नभएपनि विभिन्न पेशा व्यवसाय ठप्प हुँदा मुलकुको अर्थतन्त्र धरासायी हुँदै गएकाले निषेधाज्ञा हटाउनुपर्ने बाध्यता सरकारसामू पनि रहेको उनीहरुको बुझाइ छ ।
निषेधाज्ञा खोल्दा व्यापक तयारी गर्न जरुरी रहेको भन्दै र जनस्वास्थ्यका मापदण्ड पालना नागरिकले पनि गर्नुपर्ने र सरकारले पनि काडाइका साथ गराउनुपर्नेमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको जोड छ ।
यस्तै, टेकु अस्पतालका डा. अनुप बास्तालाले अत्यावश्यक ठाउँमा बाहेक अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने धारणा राख्नुहुन्छ । अत्यावश्यक ठाउँमा पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गराएर मात्र सहज बनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
अहिले कस्ता ठाउँमा, कस्ता मापदण्ड अपनाएर, पालना गराएर निषेधाज्ञा खुकुलो बनाइन्छ यही कुराले भोलिको अवस्था तय गर्ने भएकाले अत्यन्तै सजक भएर निर्णय लिनुपर्ने डा. बास्तोला बताउनुहुन्छ ।
यता, स्वास्थ्य मन्त्रालयले पनि कोरोना विरुद्धको खोप अभियान तथा आयात प्रक्रियालाई उच्च प्राथकिमताका साथ अघि बढाएको बताएको छ । स्वास्थय तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले खोप नै सरकारको मुख्य प्राथमिकतामा रहेको र केहीदिनभित्रै कोरोना खोपसम्बन्धी नयाँ सकारात्मक समाचार सुन्न पाउने बताउनुभयो ।
अहिले कोरोना सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्यु दरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजना सरकार रहेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञासँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समयमा सङ्क्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् । तर कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको बताउँदै चिकित्सक तथा जनस्वास्थ्यविद्ले यसपटक त्यो गल्ती नदोहोरिने गरी निर्णय लिन सचेत गराएका छन् ।