काठमाडौं । आफ्नै श्रीमतिको हत्या अभियोगमा दोषी सावित भई थुनामा रहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसला ‘प्रथम दृष्टिमै त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ताको कार्यालयले निष्कर्ष निकालेको छ ।
सरकारका तर्फबाट फैसला पुनरावलोकनका लागि विहीबार (हिजो) दर्ता गरिएको निवेदनमा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।
साथै सर्वोच्चको फैसलापछि रिहा भएका हत्यारा कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ । कोइरालाकी प्रेमिका तारा रेग्मीलाई समेत हदैसम्मको सजाय हुनुपर्ने माग गरिएको छ ।
सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।
त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकाल (आरोपित कोइरालाको श्रीमति)को हत्या गर्न प्रेरित गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त्रुटिपूर्ण रहेको सरकारी वकिलहरुको जिकिर छ ।
तारालाई एक वर्षमात्र कैद सजाय गर्ने तल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै सरकारी वकिलले पुनरावलोकन गरेका थिए ।