एजेन्सी - क्लब फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ ।
पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सी सन् २०२०-२१ को च्याम्पियन बनेको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन जर्मन खेलाडी काई हाभर्टजले ४२ औं मिनेटमा गाल गरेका थिए ।

खेलको ४३ औं मिनेटमा मेसन माउण्टको पासमा हाभर्टजले गोल गरेका हुन् । सिटीले अन्तिममा केही गोलका अवसर खेर फालेको थियो । त्यस्तै, चेल्सीका टिमो वेर्नरले पनि केही सुनौला अवसर खेर फालेका थिए ।
दुवै पक्षबाट गोल नभएपछि हाभर्टजले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीका थिआगो शिल्भा र सिटीका केभिन डे ब्रुने घाइते हुँदै मैदान छोडेका थिए । डे बु्रुनेले मैदान छोडेपछि सिटीले लय गुमाएको थियो ।

चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको यो दोस्रो पटक हो । उसले नौ वर्षपछि अर्को उपाधि जितेको हो । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । पहिलोपटक फाइनलमा पुगेको सिटी भने उपाधि जित्न असमर्थ रह्यो । पहिलोपटक उपाधि जित्दै इतिहास बनाउनबाट उ चुकेको हो ।