काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिएको छ ।
आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले समस्याको रुपमा रहेको अक्सिजनको उत्पादन बढाउन विद्युतको चार्ज छुट दिने निर्णयसमेत गरेको छ ।
त्यस्तै, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर कूटनीतिक पहल पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
सिलिन्डरको समस्या समाधान गर्न चीन र ओमानबाट पनि अक्सिजन सिलिन्डर मगाइरहेको बताउँदै उहाँले भन्नुभयो, निजी क्षेत्रले सिलिन्डर ल्याइरहेकाले अब अक्सिजनको अभाव हुनेछैन ।
साथै, कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि केही कानुन आवश्यक परेकाले तयारी गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको ज्ञवालीले बताउनुभयो ।