काठमाडौं । कोरोना संक्रमण रोकथाप र नियन्त्रणको लागि निषेधाज्ञा लागू गर्ने जिल्लाको संख्या ७० पुगेको छ । वैशाख ७ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ७० जिल्लामा पुगेको हो ।
७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
देशभर संक्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्को एक हप्ता थप गरिएको थियो । भोलि रातिदेखि निषेधाज्ञा आदेशको समय सकिन लागेकाले थप गर्ने तयारी गरिएको हो ।
पछिल्लो समय काठमाण्डौ उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा कोरोना संक्रमित भेटिँदै आएका छन् ।