काठमाडौं । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको गएराति मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताउनुभयो ।
उता सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचाररत बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिलाको आज बिहान पौने ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैशीले जानकारी दिनुभयो ।
यस्तै, शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुष मंगलबार राति मृत्यु भएको छ।