Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

‘सरकारको घोाषणाले कोरोना संक्रमणको जोखिम झनै बढ्यो’

‘सरकारको घोाषणाले कोरोना संक्रमणको जोखिम झनै बढ्यो’

  • मंगलवार, बैशाख १४ २०७८

  • 1.2K
    SHARES

  • ‘सरकारको घोाषणाले कोरोना संक्रमणको जोखिम झनै बढ्यो’

    काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू हुनुपूर्व घर फर्कनका लागि दिइएको दुई दिनको समयले कोरोना संक्रमणकोदर झनै बढाउने देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    निषेधाज्ञा लागू हुनुपूर्व घर फर्कनका लागि भएको भिडभाडका कारण संक्रमणको दर बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको हो ।

    सरकारले हिजो आगामी बिहीबारदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी हुने घोषणा गरेलगत्तै घर फर्कनेहरुको घुइँचो लागेको छ ।

    यसरी ठेलमठेल भएर घर फर्कने क्रम सुरु भएपछि संक्रमणको जोखिम निकै बढाएको जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले बताउनुभयो ।

    संक्रमणको दर उकालो लाग्ने क्रम सुरु हुनेबित्तिकै पर्याप्त समय दिएर व्यवस्थित रुपमा नागरिकहरुलाई घर फर्काउनुको साटो अन्तिम अवस्थामा सरकारले हतारमा लतारको काम गरेर जोखिम बढाएको उहाँको आरोप छ ।

    सरकारले बिहीबारदेखि निषेधाज्ञा लागू हुने घोषणा गरेको भोलिपल्ट आज मात्रै ५० हजार भन्दा धेरै मानिसहरुले काठमाडौँ छाडेका छन् ।

    निषेधाज्ञा लम्बिएपछि काठमाडौँमा भोकै परिने त्रासले हजारौँ मानिसहरु आफ्नै गाउँतिर कुलेलम ठोकेका हुन् ।

    तर सार्वजनिक यातायातमा जनस्वास्थ्य मापदण्ड पालना नगरिएकाले संक्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले बताउनुभयो ।

    नयाँ प्रजातिको कोरोना भाइरसमा तीव्र गतिमा फैलिने क्षमता भएकाले जोखिम अझ बढेको उहाँको भनाई छ ।

    विज्ञहरुले क्षमता भन्दा धेरै मानिसहरु खाँदिएर सुरु भएको बसको यात्राले एक त स्वस्थ रहेका व्यक्तिहरुलाई बाटोमै संक्रमण हुने र अर्काे उनीहरु गाउँ पुगेसँगै गाउँमा पनि संक्रमणको जालो फैलिने खतरा देखेका छन् ।

    त्यसैले घर पुगिसकेपछि कम्तीमा १४ दिन सेल्फ क्वारिन्टिनमा बस्न डा. पाण्डेले सुझाव दिनुभयो ।

    सरकारले घर फर्कनका लागि दुई दिनको समय दिएको तर यात्राका बेला अपनाउनपर्ने सावधानीका लागि कुनै प्रयास नगरेको आरोप विज्ञहरुको छ ।

    अहिले गाउँ जानेहरुलाई स्थानीय तहसँगको सहकार्यमा क्वारिन्टिनमा राख्न सके संक्रममणको चेन केही हदसम्म तोड्न सकिने जनस्वास्थ्यविद मरासिनीको दाबी छ ।

    उहाँले प्लेग रोग फैलिएपछि मल्ल राज्यहरुमा स्वस्थ व्यक्तिहरुलाई मात्रै प्रवेश दिएर संक्रमण नियन्त्रणमा लिइएको उदाहरण सुनाउँदै अहिले पनि क्वारिन्टिनको वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने सुझाव दिनुभयो ।

    यसैबीच नेपालमा पछिल्लो चौबिस घण्टामा चार हजार पाँच सय २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप १८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

    नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणबाट जोगिन मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने लगायतका जनस्वास्थ्य मापदण्डको पालना गर्नमा लापर्वाही नगरौँ ।

     


    मंगलवार, बैशाख १४ २०७८०७:४७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij