काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
प्याब्सनका अध्यक्ष टीका पुरीले सरकारको निर्णयअनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सूचित गरेको बताउनुभयो ।
यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने उहाँले बताउनुभयो । एन प्याब्सनआवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत राखेको र केहीले स्थगित गरेको पाइएको परीक्षा समिति अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।
सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र मंगलबारदेखिको परीक्षा गर्ने-नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने उहाँको भनाइ छ ।
कोरोनाको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो छ ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन हुने जनाएको छ ।
मंगलबारका लागि तोकिएको परीक्षा गर्ने-नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताउनुभएको छ ।