Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

ललितपुरबाट हराएको मूर्ति ३७ वर्षपछि अमेरिकामा भेटियो

ललितपुरबाट हराएको मूर्ति ३७ वर्षपछि अमेरिकामा भेटियो

  • शुक्रवार, बैशाख ३ २०७८

  • 876
    SHARES

  • ललितपुरबाट हराएको मूर्ति ३७ वर्षपछि अमेरिकामा भेटियो

    काठमाडौं । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरे ।

    सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो । जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ ।

    सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो । त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो । विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो । प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ ।

    विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबैको समन्वयमा हराएको मूर्ति फर्काउन सकिएको बताए । मूर्ति फर्कंदा हराएको छोरो घर फर्किएजस्तै भएको उनको भनाइ छ । कुनै पनि मन्दिरका मूर्ति स्थनीय तह र स्थानीयवासीसँगको सक्रियता भएमा मन्दिरमा राख्न सकिने उनले बताए । उनले भने, “त्यसका लागि स्थानीयस्तरमा हामी त्यसको संरक्षण गर्न सक्छौँ भन्ने भावना हुनुपर्छ ।”

    विभागका महानिर्देशक गौतमले कुनै पनि ठाउँबाट त्यहाँको सम्पदा बाहिरिन नपाओस् भनेर स्थानीयस्तरमा सचेतना हुनुपर्ने बताए । विगतमा हराएका कतिपय मूर्ति फर्काइएको र कतिपय फर्काउने क्रममा रहेको उनको भनाइ छ । उनले भने, “सबैले समन्वय गरेर लागेमा फर्काउन सकिन्छ ।” महानगरपालिकाका प्रमुख महर्जनले महानगरभित्र रहेका सम्पदाको संरक्षण गर्न महानगर लागिपरेको बताए । सो मूर्ति फर्किएकामा खुशी व्यक्त गर्दै उहाँले त्यसको सुरक्षामा ध्यान पुर्याइने बताए ।

    सन् १९५० भन्दा पहिलेसम्म कति कलाकृति बाहिरियो भन्ने रेकर्ड नभए पनि त्यो समयमा धेरै सम्पदा बाहिरिएको विभिन्न घटनाले देखाएको छ । खासगरी १९७०, १९८० र १९९० को दशकमा धेरै कलाकृति बाहिरिएको पाइन्छ । सन् २००० पछि भने सांस्कृतिक वस्तुको चोरी र निकासी कम हुन थालेको पाइन्छ । आम नागरिकमा सांस्कृतिक महत्व बुझ्दै जाँदा यी वस्तु यथास्थानमा नै प्रतिस्थापन गर्नुपर्छ भन्ने भावना बढ्दै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनको विकासले नेपालभन्दा बाहिर गैरकानूनीरूपमा निकासी भएका सम्पदा फर्काउन थालिएको विभागले जनाएको छ ।

    युनेस्कोको सन् १९७० को गैरकानूनीरूपमा सांस्कृतिक वस्तुको चोरी निकासी र ओसारपसारलाई रोक लगाउनेसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएसँगै यस्ता सम्पदा क्रमशः फर्किएको विभागले जनाएको छ । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक, अमेरिकाबाट १०, तिब्बतबाट २८ र जर्मनीबाट एक थान मूर्ति फिर्ता भइसकेको छ ।


    शुक्रवार, बैशाख ३ २०७८०७:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij